काठमाडौं- काठमाडौंस्थित अमेरिकी दूतावासका नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री माननीय शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले हालैको बाढीबाट प्रभावित तथा पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै विपद्को यस कठिन घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले बाढीपछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा नेपाललाई आवश्यक सहयोग र सहकार्य उपलब्ध गराउन अमेरिकी सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग तथा समर्थन व्यक्त गरेकोमा अमेरिकी सरकार र अमेरिकी जनताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले बाढीपछिको राहत तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणका आगामी चरणमा समेत अमेरिकी सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।








